विक्रम संवत २०२७ सालमा स्थापित नेपाली काङ्ग्रेसको भ्रात्री सँस्था नेपाल विद्यार्थी संघको मुखपत्रको रुपमा “संक्रान्ति” को प्रकाशन भएको हो। २०२८ साल वैशाखमा पहिलो अंक प्रकाशित भएयता विभिन्न समयका विविध अभियानहरुलाई मुखरित गर्दै हालसम्म यसका १२ अंकहरु पुर्व प्रकाशित छन्। यसैक्रममा “संक्रान्ति” को तेह्रौँ अंक प्रकाशन गर्ने अभियानको मूल अवधारणा सार्वजनिक गर्दै छौँ।

यस भन्दा अगाडि प्रकाशित अंकहरुको यथाससम्भव संकलन गरि डिजिटल प्रतिहरु क्रमिक रुपमा सार्वजनिक गर्ने छौँ। यसले इतिहासका महत्वपूर्ण घटनाहरु र प्रकाशनहरुलाई स्मरण गराई सुरक्षित राख्न सघाउ पुर्याउने छ। यस अंकमा भने विशेष रुपमा युवा तथा विद्यार्थी वर्गका भविष्य केन्द्रित सपनाहरुलाई इतिहास र स्थापित मान्यताहरुको आधारमा कसरि पुरा गर्न सकिन्छ भन्ने तर्फको वहस गरिने छ।

नेपाल विद्यार्थी संघको मुखपत्र “संक्रान्ति” को तेह्रौँ अंक “८० को दशक: युवा र विद्यार्थी” भन्ने अवधारणामा प्रकाशित गर्दै नेपालका युवाहरुको सपनालाई दस्तावेजीकरण गर्ने एक ऐतिहासिक यात्रा आरम्भ भएको छ। समयको रेखामा विगतलाई भोगेर सिकेका ज्ञानद्वारा निर्दिष्ट हुँदै वर्तमानको परिदृश्यहरुको आधारमा भविष्यको योजना बनाउने अभियानको रुपमा यस अवधारणाको परिकल्पना गरिएको छ। यो अवधारणा नेपालका युवा तथा विद्यार्थीहरुले विक्रम संवत २०९० सालको सुरुवाती अवस्थासम्ममा परिकल्पना गर्ने देशमा केन्द्रित रहेको छ। यो हजार सपनाहरुको माया लागेर आउनेहरुको साझा चौतारि हो, जहाँ सपना देखिने वा देखाइने मात्र होइन, ति सपनाहरुलाई साकार पार्न कस्तो संकल्प लिनुपर्ने हो भन्ने कुरामा पनि वहस हुने छ। ति संकल्पहरु पुरा गर्न वैचारिक रुपले संकल्पित लोकतन्त्रका अनेक आयामहरु तथा संसदीय लोकतन्त्रले  कसरि काम गर्नुपर्छ भन्ने कुरा समेत समेट्ने यत्न गरिने छ।

नेपालको वर्तमान परिप्रेक्ष्यमा, युवा र विद्यार्थीहरु परिवर्तनका प्रमुख संवाहकका रुपमा उभिएका छन्। यस पुस्ताले वर्तमानमा परिकल्पना गरेको समाजमा शिक्षाको गुणस्तर र पहुँच, रोजगारको अवसर र पहुँच तथा राष्ट्रिय एकताको भावना र त्यसप्रतिको अडानहरुले विशेष अर्थ राख्दछन् भन्ने यो यात्राको आरम्भ गर्दा सोचिएको छ। यसका साथै युवा र विद्यार्थी वर्गले वर्तमान विश्वव्यापी विविध परिदृश्यमा देखिएका ऊर्जा सुरक्षा, हरित ऊर्जा, क्रित्रिम बौद्दिकता तथा नविन प्रविधिहरु लगायतका विविध सान्दर्भिक आधारमा समुन्नत नेपालको कस्तो भविष्य चाहान्छन् भन्ने आयामहरु समेटिने छन्।

समयको गतिशील बहावमा दैनिक फेरिरहने सन्दर्भहरुले हामीलाई आगामि दशकमा कहाँ पुर्याउँछन् त्यो अहिले नै किटान गरेर भन्न सकिँदैन। तर आज हामीले हाम्रो बृहत्तर पहिचान र राष्ट्रको समुन्नतिको अपेक्षा राख्ने हो भने कुनै न कुनै साझा संकल्पहरुमा विशेष रुपमा युवा वर्ग केन्द्रित हुन जरुरि छ। त्यसको पर्याप्त वहश, योजना र निरन्तर परिमार्जन सहितको सक्रियता अपरिहार्य छ। संक्रान्तिको यस प्रकाशनको अवधारणामार्फत आगामि दशकमा समुन्नत नेपाल निर्माणमा नेपालका मूलभुत सरोकारवाला पक्षहरु के कस्ता कुराहरुमा विशेष रुपले संकल्पित हुनुपर्दछ भन्ने कुराको सार्थक छलफल सुरुवात हुने आशा छ।

शिक्षाको सवालमा, युवाहरुले नेपाललाई उच्चस्तरीय, व्यवहारिक र नैतिक शिक्षाको केन्द्र बनाउन चाहेका छन्। यसका लागि सरकारी तथा निजी क्षेत्रबाट ठोस नीति र योजनाहरुको आवश्यकता हुन्छ। शिक्षाको पहुँच मात्र नभई गुणस्तरमा सुधार, प्रविधिमैत्री शिक्षण विधि तथा नवीन शिक्षण सामग्रीको उपयोग गर्नुपर्छ। यसका साथै संसारलाई नैतिक उदाहरण दिनुपर्ने यस सुन्दर भुमिको ऐतिहासिक आवश्यकतालाई समेत पुरा गर्न समग्र रुपले योग्य मानिसहरु यही भुमिमा जन्मन, हुर्कन, बढ्न र समाप्त हुन समेत पाउनुपर्छ।

रोजगारको सवालमा, युवा पुस्ता नेपालमा व्यवसाय र उद्यमशीलताको विकासलाई प्राथमिकता दिईएको हेर्न चाहन्छन्। यसका लागि, उद्योग र शिक्षाबीचको समन्वय, सीपमूलक तालिम तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्ने छ। यसले मात्र हाम्रो मुलुकलाई आर्थिक रुपमा सबल र आत्मनिर्भर बनाउन मद्दत पुर्याउने छ।

राष्ट्रियताको सवालमा, स्वाभाविक रुपमा सम्पूर्ण युवाहरु एकताको बलियो भावनाले प्रेरित हुन्छन् र राष्ट्रीयता एकताको निकै वृहत इकाई हो। भुमि सँग मानव इतिहासको आणुवंशिक सम्बन्धका कारण  देश भन्दा जति पर रह्यो उति माया बढेको अनुभव गर्ने साथीहरु समेत यस अभियानमा प्रखर रुपले सरिक बन्न चाहान्छन्। जातीय, धार्मिक र क्षेत्रीय विविधतामा एकता र सहिष्णुताको भावना प्रवर्द्धन गर्दै समुन्नत नेपाल निर्माण गर्ने आकांक्षा राख्छन्। विश्वबन्धुत्व तथा राष्ट्रिय एकताको भावना बलियो बनाउन युवा पुस्ताको सक्रिय सहभागिता अपरिहार्य छ।

यि, यो अंकको अभियान आरम्भ गर्दाको बखतमा सोचिएका आम विषयहरु मात्रै हुन। युवा पुस्ताको सक्रिय, सृजनात्मक तथा प्रतिस्पर्धी सहभागिताको आधारमा वर्तमान परिदृश्यमा देखिएका स्वास्थ्य, ऊर्जा, जलस्रोत, प्रविधि, कला, पर्यटन, पहिचान लगायतका विषयका विविध पक्षहरु समेत यसमा आउने छन्। यस प्रकाशनलाई थप प्रभावकारि बनाउन यसको दौरानमा आउने थप रचनात्मक सुझावहरुलाई हामीले हार्दिकताको साथ स्वागत गरी समावेश गर्ने नै छौँ। समयका विविध अपेक्षा हरुलाई स्थान दिने प्रयास गर्ने छौँ।

नेपाल विद्यार्थी संघको मुखपत्रको रुपमा नेपाल विद्यार्थी संघले हाल गरिरहेका गतिविधि तथा भावि कार्ययोजनाहरु समेत यस अंकमा प्रकाशन गर्ने छौँ।

यस अंकमा समावेश हुने लेख, अनुसन्धान र विचारहरु युवा र विद्यार्थीहरुका सपनालाई वास्तविकतामा बदल्नको लागी आवश्यक कदमहरु पहिचान गर्नेतर्फ उन्मुख हुने छन्। साथै यस प्रकाशनलाई समग्र नेपाली काङ्ग्रेस पार्टीले नेपाली युवाहरुको भावि सपना चिहाउने आँखिझ्यालको रुपमा लिँदै सोहि अनुरुप आफुलाई परिमार्जित तथा प्रतिबद्द रहन तर्फ केन्द्रित गर्ने दस्तावेजको रुपमा विकाश गर्ने छौँ। हामी विश्वास गर्छौं कि “८० को दशक: युवा र विद्यार्थी” भन्ने अवधारणामा आधारित यस विशेष अंकले यस वर्गका सपनाहरुलाई साकार पार्न महत्वपूर्ण योगदान दिनेछ।

यथासक्य सुन्दर सँस्करण बनाउने प्रयत्न गरौँ।

धन्यवाद।
जय नेपाल

Scroll to Top